दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले १०० दिने मार्च टू जस्टिस(मार्च२जस्टिस) अभियानको शुरुवात गरेको छ ।

मार्च२जस्टिस अभियान
६० औं अन्तराष्ट्रिय रंगभेद तथा जातीभेद विरुद्धको दिवस २१ मार्चको अवसर पारेर दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले १०० दिने मार्च टू जस्टिस(मार्च२जस्टिस) अभियानको शुरुवात गरेको छ ।
हालै सामुहिक वलत्कारपछि हत्या गरिएकी सिरहाकी १७ वर्षिय रिंकु सदाले अझैसम्म न्याय पाएकी छैनिन् । अन्तरजातीय विवाहको कारण सर्लाहीका सतेन्द्र राम(चमार) र नेहा रौनियारले देशै छाड्नुप¥यो र उनीमाथि सिंगो प्रशासन नै हिंषमा उत्रियो । गत बुधबार मात्र महायज्ञको नाममा डोम समुदायको घरमा बुलडोजर चलाइयो । जातका आधारमा हुने यस्ता अनेक हिंषा विरुद्धमा लड्ने र समातामुलक समाज निर्माणमा योगदान पु¥याउने उद्देश्यसहित मार्च२जस्टिसको अभियान सुरुवात गरिएको हो ।
मार्च२जस्टिस को शुरुवात भारतका सफाई कर्मचारी आन्दोलनका संयोजक बेजवाडा विल्सनसँगको वहसबाट शुरुवात भइसको छ । भारतमा हातले फोहोर उठाउने काम उन्मूलन गर्ने लडाइँको अग्रपंक्तिमा रहिआएका बेजवाडा मानव अधिकार र सामाजिक न्यायमा पु¥याएको योगदानका लागि रामोन म्यागसेसे पुरस्कार–२०१६ बाट सम्मानित भएका थिए ।
मार्च२जस्टिस अन्तरगत जातीय हिंसा र भेदभावको विरोध गर्ने, दलित र सीमान्तकृत समुदायका प्रतिरोधी कथाहरूलाई प्रवद्र्धन गर्ने, पीडितलाई न्याय दिलाउने प्रक्रियामा सहभागी भई कानूनी सहायता प्रदान गर्ने र संविधानलाई कार्यान्वयनको लागि दवाव सृजना गर्ने श्रृंखलाबद्ध कार्यक्रम रहनेछन् । यसै अभियान मार्फत युवाहरुले डिजिटर स्पेसमा समेत दलित समुदायका न्यायका लागि आवाज उठाउनेछन् । साथै, युवाको अनुभवबाट सिक्ने र जातीय विभाजन, विभेद र बहिष्करण अन्त्यका लागि युवा वैचारिकी तयार गर्ने उद्देश्यले दलित लाइभ्स म्याटरले उत्पादन गरेको टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भरसेसन’ अहिले हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।
२१ मार्चको ऐतिहासिक पृष्ठभूमी दक्षिण अफ्रिकाबाट शुरु हुन्छ । बहुसंख्यक काला जातीका मानिस भएको दक्षिण अफ्रिकामा अल्पसंख्यक गोरा जातीको शासन थियो । कालाहरुलाई थप दमन गर्नका लागि गोराहरुले अपत्तिजनक र विभेदकारी ऐन ‘पास ल’ जारी गरेपछि त्यसको विरुद्धमा २१ मार्च १९६० का दिन दक्षिण अफ्रिकाको सार्प भिल्ले सहरमा काला जातीले विद्रोह गरेका थिए । काला जातीको विशाल आन्दोलनलाई दमन गर्ने क्रममा गोरा नश्लीय सरकारले ६९ जनाको हत्या गरेको थियो । सन् १९६५ मा बसेको राष्ट्रसंघीय महासभाले सार्प भिल्ले विद्रोहलाई जातिवाद र रंगभेदविरुद्धको ऐतिहासिक दिनका रूपमा सम्मान गर्दै अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसका रूपमा मनाउने निर्णय ग¥यो ।
त्यसपश्चात हरेक मार्च २१ लाई विश्वभर न्याय र समताका लागि उत्सवको निम्ति सेलिब्रेट गरिन्छ । नेपालमा पनि जातीभेद र रंगभेद विरुद्धको दिवसको रुपमा यसलाई उत्सवको रुपमा मनाइदै आएको छ । संसारभरका उत्पीडित वर्ग समुदायलाई लड्नको लागि शक्ति प्रदान गर्ने यो दिवसमा हामीले मार्च २ जस्टीस अभियान सार्वजनिक गरेका हौं । नेपालमा भइरहेको जातीय हिंषा विरुद्ध लड्ने यो अभियान नेपालको राष्ट्रिय छुवाछुतमुक्त दिवस जेठ २१ सम्म श्रृंखलाबद्ध कार्यक्रमका साथ सञ्चालन हुनेछ ।
जात नेपाली समाज र समग्र मानव सभ्यताको विकास, गतिशीलता र प्रगतिको बाधक बनेको छ । विभेदकारी जात व्यवस्थाले दलित र सिमान्तकृत समुदायलाई सबैभन्दा पीडामा पारेको छ । आर्थिक, राजनीतिक र सामाजिक रूपमा पछाडि पारेको यहाँलाई अवगत नै छ । संविधानले जातको आधारमा हुने छुवाछुत रविभेदलाई बर्जित गरे पनि दलित र सिमान्तकृत समुदाय विरूद्ध निरन्तर अमानवीय शोषण र हिंसा भइरहेको छ ।
दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स जातको आधारमा हुने हिंसा, विभेद र बहिष्करण अन्त्यका लागि संगठित विश्व्यापी रूपमा उदाउँदो अभियान हो । २०७७ जेठ १० गते अन्तरजातीय विवाह गर्ने प्रयासमा रूकुम पश्चिममा नवराज विक र उनका पाँच जना साथीहरूको निर्ममतापूर्वक हत्या भयो । त्यसै नरसंहारको पृष्ठभूमिमा दलित लाइभ्स म्याटर अस्तित्वमा आएको हो ।
जात व्यवस्था र यसले श्रृजना गरेका विभेद र असमानता कुनै निश्चित समुदायले मात्र बोल्नुपर्ने विषय पक्कै होइन । मानव जातिकै कलंक बनेको जात व्यवस्था अन्त्यका लागि सबै जात र समुदायको अर्थपूर्ण सहभागिता, साझेदारी र सहकार्यको कुनै विकल्प छैन ।
तसर्थ, यहि विज्ञप्तिमार्फत दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स यहाँको साथ, सहयोग र सहकार्यका लागि आव्हान गर्दछ ।
धन्यवाद ।
प्रदीप परियार
संस्थापक तथा अध्यक्ष