कास्ट कन्भर्सेसन: जातीय विभेदविरुद्धको नयाँ टेलिभिजन संवाद

दलित लाइभ्स म्याटर जातको आधारमा हुने हिंसा, विभेद र बहिष्करण अन्त्यका लागि संगठित विश्व्यापी रूपमा उदाउँदो अभियान हो । २०७७ जेठ १० गते अन्तरजातीय विवाह गर्ने प्रयासमा रूकुम पश्चिममा नवराज विक र उनका पाँच जना साथीहरूको निर्ममतापूर्वक हत्या भयो । त्यसै नरसंहारको पृष्ठभूमिमा दलित लाइभ्स म्याटर अस्तित्वमा आएको हो ।

नेपाली समाज र समग्र मानव सभ्यताको विकास, गतिशीलता र प्रगतिको बाधक बनेको छ – जात । विडम्बना – जात व्यवस्था, यसका आयाम र प्रभावबारे सिर्जनशील प्रश्न गरिएको छैन र समाधानमुखि संवाद हुन अझै सकेको छैन ।

विभेदकारी जात व्यवस्थाले दलित र सिमान्तकृत समुदायलाई सबैभन्दा पीडामा पारेको छ । आर्थिक, राजनीतिक र सामाजिक रूपमा पछाडि पारेको छ । दलित र सिमान्तकृत समुदाय विरूद्ध निरन्तर अमानवीय शोषण र हिंसा भइरहेको छ । संरचनात्मक विभेद र बहिष्करण अझै जारी छ । जसको अन्त्य टाढा पर-परसम्म पनि देखिदैन ।

त्यसैले, जात व्यवस्थाको विविध आयामबारे युवा पुस्तासँग छलफल गर्ने, उनीहरूको अनुभवबाट सिक्ने र जातीय विभाजन, विभेद र बहिष्करण अन्त्यका लागि युवा वैचारिकी तयार गर्ने उद्देश्यले दलित लाइभ्स म्याटरले टेलिभिजन कार्यक्रम “Caste Conversation” उत्पादन गरिरहेको छ । जम्मा १२ अंकको पहिलो श्रृङ्खलामा सातै प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न समुदाय, लिङ्ग, भाषा, आस्था र शारीरिक अवस्थाका युवा सहभागी हुनेछन् ।

शान्ता नेपालीको निर्देशनमा तयार भएको “Caste Conversation” लाई वृद्धिका सेञ्च्युरीले सञ्चालन गर्नेछन् । कार्यक्रमको हरेक अंकमा सात जना सहभागी हुनेछन् । जातसँग लैङ्गिकता, प्रेम र विवाह, जमिनको स्वामित्व, कला र साहित्य, प्रविधि, न्याय र शिक्षालगायत विविध विषय र मुद्दा कसरी अन्तरसम्बन्धित छन् भन्नेबारे “Caste Conversation” ले प्रष्टता ल्याउने हाम्रो विश्वास छ । “Caste Conversation” हिमालय टेलिभिजनबाट माघ २४, २०८१ देखि प्रत्येक बिहीबार राति :३० बजे प्रसारण हुनेछ

जात व्यवस्था र यसले श्रृजना गरेका विभेद र असमानता कुनै निश्चित समुदायले मात्र बोल्नुपर्ने विषय पक्कै होइन । मानव जातिकै कलंक बनेको जात व्यवस्था अन्त्यका लागि सबै जात र समुदायको अर्थपूर्ण सहभागिता, साझेदारी र सहकार्यको कुनै विकल्प छैन ।

तसर्थ, यहि विज्ञप्तिमार्फत् दलित लाइभ्स म्याटर यहाँको साथ, सहयोग र सहकार्यका लागि आव्हान गर्दछ ।

धन्यवाद ।

प्रदीप परियार
संस्थापक तथा अध्यक्ष